कोरोना महामारीमा बालबालिकाको मानसिक स्वास्थ्य
विश्वभरि फैलिएको कोरोना भाइरस सङ्क्रमणले ३० करोडभन्दा बढी मानिसलाई प्रत्यक्ष असर पारेको छ भने अप्रत्यरुपमा विश्वका सात अर्ब जनसंख्यालाई प्रभावित पारेको छ । यो जनस्वास्थ्य सङ्कटले आर्थिक, सामाजिक र व्यक्तिगत पाटोमा पनि नराम्ररी असर गरिरहेको छ। समग्रमा हेर्दा कोरोना भाइरसले बालबालिकालाई तुलनात्मक रूपमा कम सङ्क्रमित गरेको देखिएको पाइए पनि यसले निम्त्याइरहेको मानसिक असर भने गहिरो छ।
महामारीसँगै अब के हुने हो भन्ने अनिश्चितता र अन्यौल कायमै छ, जसलाई वयस्कहरूले केही हदसम्म स्वीकारे पनि बालबालिकाका लागि यसलाई बुझ्न र स्वीकार्न सहज छैन। उनीहरूका लागि दिनाचार्यमा आएको परिवर्तन, घरभित्रै बस्नु पर्ने बाध्यता र विद्यालय एवम् त्यहाँका साथीभाईहरूसँग टाढा हुनुपर्दाका अफ्ठेरो र कठिनाइहरू छन्, जसका बारेमा उनीहरू खुलेर कुरा गर्न पनि कमै सक्षम छन्।
अहिलेको अवस्थामा दूरशिक्षा, रेडियो, टिभी र अनलाइनमार्फत वैकल्पिक शिक्षा प्रणालीबाट पढ्ने र सिक्ने कुरा केही हदसम्म सुनिश्चित भए पनि यसले विद्यालयको वातावरण र सामाजिक सम्बन्ध दिन सक्दैन। कोरोना भाइरसको प्रभाव देखिनु भन्दा अघि विद्यालय गइरहेका उनीहरू अचानक विद्यालय जानै नपाउनुले जीवन नै परिवर्तन भएको छ।
विद्यालयमा दिने समयले उनीहरूको पढाइ, लेखाइ, र सिकाइमा मात्रै विकास गरेको हुँदैन, त्यसले उनीहरूको साथी सम्बन्ध बुझ्ने, भावना साट्ने, खेलबाट ऊर्जा प्राप्त गर्ने र सिर्जनात्मक कार्यका लागि प्रोत्साहित हुने मौका पनि दिइरहेको हुन्छ। विद्यालय बन्द भएको महामारीको अवस्थामा बालबालिकामा देखिने मानसिक स्वास्थ्य एवम् व्यवहारगत समस्याका साथसाथै त्यसलाई अभिभावकले कसरी न्यूनीकरण गर्न सहयोग गर्न सक्छन् भन्ने विषयमा यो लेख केन्द्रित छ।
बालबालिकालाई कस्तो प्रभाव ?
विश्वका धेरै राष्ट्रहरूमा जस्तै नेपालमा पनि विद्यालय बन्द छन् । विद्यालय खोलिएका देशहरूमा पनि मास्क र सामाजिक दूरी लगायतका स्वास्थ्य सावधानीहरू अपनाइएका छन् र कतिपय खोलेर पनि बन्द गरिएका छन्। यी सबै कुराको प्रभाव बालमस्तिष्कमा पर्छ र यसको असर उनीहरूको मानसिक स्वास्थ्यमा देखिन्छ। बालबालिकाको मानसिक स्वास्थ्यमा परेका असरहरूमा बारेमा अझै धेरै अध्ययन अनुसन्धानहरू हुन बाँकी छ । तर, अहिले जे जति विशेष गरी सर्वेक्षणजस्ता अध्ययनहरू भएका छन् तिनको नतिजा चिन्तित बनाउने खालका छन्।
चीनको हुबे प्रान्तमा २,३३० बालबालिकामा गरिएको अध्ययनमा कोभिड-१९ का कारण उनीहरूमा हुनसक्ने भावनात्मक दूरी हेरिएको थियो। जामा पेड्रियटिक जर्नलमा प्रकाशित सो अध्ययनमा झन्डै एक चौथाइमा डिप्रेसन वा नैराश्यका लक्षणहरू देखिएको थिए भने प्रत्येक पाँचमध्ये एकजनामा सानो कुराले आत्तिने, एकाग्रताको कमी, निन्द्राको समस्या र झर्किनेजस्ता बेचैनीको लक्षण देखिएको थियो।
कन्सोर्टम नेपालले यहाँ मे र जुलाईमा जोखिम समूहका २९२ बालबालिका, २५६ अभिभावक र १०६ स्थानीय अधिकारीसँग गरेको सर्वेक्षणमा तनाव र दुश्चिन्ता, यौन दुर्व्यवहार र अनलाइन दुर्व्यवहार भएको देखाएको छ। युनिसेफले मेमा नेपालमा गरेको छलफलमा सोसल मिडियाको बढी प्रयोगले देखिएका असर एउटा प्रमुख प्रभावका रूपमा देखाएको थियो ।
इन्टरनेट र स्क्रिनको जोखिम
यसबाहेक घरमै गरिने अध्ययनका कारण पनि धेरै बालबालिकाको दिनाचार्य परिवर्तन भएको छ। विद्यालय नगएका तीन वर्षका आसपास र कम उमेरका बालबालिकाहरूलाई अभिभावको स्याहारसुसार पुगेको अवस्थामा सहज छ । तर, अभिभावक काममा गइरहेका वा घरबाटै कार्यालयको काम गर्नुपर्ने बालबालिकाको अर्कै खाले समस्या छन्। अनलाइन कक्षाहरूले डिजिटल विभाजन झन टड्कारो भएको छ। हालै शिक्षा मन्त्रालयले असोजबाट शिक्षाका लागि इन्टरनेट नि:शुल्क उपलब्ध गराउनुपर्ने व्यवस्था गरेको छ । त्यो कार्यान्वयन भएमा इन्टरनेट विभाजन केही कम होला । तर, कतिपयमा मोबाइल वा कम्प्युटरजस्ता उपकरणसम्म पहुँच नभएको अवस्था भने कायमै छ ।
अनलाइन कक्षाको नकारात्मक प्रभावमा बालबालिकाको बढेको स्क्रिन समय पनि रहेको छ। यसले इन्टरनेट एडिक्सन वा मोबाइल/कम्प्युटर/टिभी एडिक्सनको समस्या ल्याउनसक्ने अवस्था छ। धेरै अभिभावकको गुनासो छ कि आफ्नो मोबाइल अनलाइन कक्षाका लागि पूरै बालबालिकालाई दिनुपरेको छ। ‘मेरो बाबुले पढिरहेको छ भन्ठानेको त अनलाइन कक्षा बन्द गरेर गेम पो खेल्दो रहेछ’ भन्ने गुनासोहरू सुन्न थालिएको छ। आफूभन्दा छोराछोरी प्रविधि र इन्टरनेटमा अगाडि भएका कारण कतिपय अभिभावकले चाहेर पनि बालबालिकाले के गरिरहेका छन् भन्ने निगरानी गर्न सक्दैनन्।
विद्यालय जाने उमेरका साना बालबालिकालाई अधिकतम दिनको दुई घण्टा त्यो पनि बीचबीचमा विश्राम लिएर मात्रै स्क्रिन समय दिनुपर्छ भन्ने मान्यता पालना गर्न सकिने अवस्था छैन। तर, मोबाइल वा कम्प्युटरको स्क्रीनमा धेरै समय बस्दा त्यसले मानसिक र व्यवहारिक समस्या ल्याउन सक्छ। त्यस्ता समस्याहरूमा पढाइमा कमजोरी, सामाजिक सम्बन्धमा कम रूचि, व्यक्तिगत सरसफाइमा कम रूचि, छिटो रिसाउने वा झर्किने, निन्द्रामा गडबडी र बेचैनी हुन्।
महामारीले निम्त्याएको प्रमुख समस्या आर्थिक हो। बालबालिकाहरू आर्थिक समस्यासँग सोझै जुध्दैनन् तर आर्थिक सङ्कटले अभिभावकलाई तनावमा पार्छ र बालबालिकाहरूले उचित अभिभावकत्व प्राप्त नगर्न सक्छन्। तत्काल यसको असर नदेखिए पनि त्यसले भविष्यमा प्रभाव देखाउने विगतका आर्थिक सङ्कटले देखाएका छन्। कतियय अवस्थामा अभिभावकहरू कार्यालय जाने हुँदा बालबालिकाहरू घर र आफ्नो हेरचाह गर्नुपर्ने अवस्थामा पुगेका छन्। खाजाको व्यवस्था गर्नुपर्ने, घरको रेखदेख गर्नुपर्ने र भाईबहिनी भए उनीहरूको ध्यान पनि राख्नुपर्ने कामले बालबालिका तनावमा हुन्छन् र थाक्छन्। यसले बालबालिकाहरूमा रिसाउने, डराउने, निन्द्रा नपर्ने र अभिभावकसँग टाँसिरहने जस्ता व्यवहारहरू देखाउन थाल्छन्।
अलि ठूला बालबालिकाले साथीहरू, उनीहरूसँग गरिने कुराकानी र खेलको अभाव महसुस गर्छन्। लामो समयसम्म अभिभावकसँग अनुशासित भएर बस्नुपर्दा उनीहरूको भावनाले उचित निकास नपाउन सक्छ, जसले उनीहरूलाई उकुसमुकुस र तनाव हुन्छ। अझ अभिभावकको कुराकानी वा सञ्चारमाध्यमको सामग्रीहरूबाट पाइने कोभिड-१९ को सूचना तथा समाचारले उनीहरूलाई झन तनाव दिन्छ । किनभने, न त उनीहरू ती समाचारहरूलाई राम्रो र सही हिसाबले विश्लेषण गर्न सक्षम हुन्छन्, न त कोहीसँग यस विषयमा छलफल गर्न सक्छन्।
अभिभावकको भूमिका
महामारीको समयमा बालबालिकाको मानसिकसहित सबै प्रकारको हेरचाहको जिम्मेवारी अभिभावकमा पर्छ। उनीहरूको मानसिक स्वास्थ्यलाई बलियो राख्न सबैभन्दा महत्त्वपूर्ण कुरा अभिभावकले दिने पारिवारिक समय हो। अहिलेको अवस्थामा बालबालिकाहरूसँग यथेष्ट समय बिताएर, उनीहरूको कुरा सुनेर र उनीहरूसँग पढेर वा खेलेर उनीहरूलाई हौसला दिन सकिन्छ। कोभिड-१९ कै बारेमा पनि समाचारमा सुनिने कुराहरूका बारेमा, स्वास्थ्य सावधानीका बारेमा बालबालिकासँग छलफल गर्नुपर्छ र उनीहरूले बुझेका कुराहरूलाई यथोचित बनाइदिनुपर्छ। कतिपय कुराहरूले उनीहरूलाई डर लागेको हुनसक्छ, कतिपय अवस्थामा उनीहरूले मिथ्या सूचना प्राप्त गरेका हुनसक्छन् र कतिपय अवस्थामा राम्ररी नबुझेका हुनसक्छन्। यस्ता कुरामा अभिभावकले उनीहरूलाई सहयोग गर्न सक्छन्।
बालबालिकाका भावनालाई बुझ्ने प्रयास गर्नु र उनीहरूमा देखा परिरहेका भावनात्मक एवम् व्यवहारिक परिवर्तनका बारेमा पनि याद गर्नुपर्छ। उनीहरूमा झर्किने-फर्किने बानी वा भनेको नमान्ने बानी वा रिसलाई बुझेर त्यसबारे उनीहरूसँग छलफल गर्न सकियो भने पनि केही समस्याहरू समाधान भएर जान्छ। उनीहरूलाई डर र निराशाका भावनालाई अभिभावकसमक्ष पोख्न सिकाऔँ जसले उनीहरूलाई तनावमुक्त हुन सहयोग गर्छ।
खेल र मनोरञ्जन बालबालिकालाई मानसिक रूपमा स्वस्थ राख्ने राम्रो उपाय हो। सकेसम्म घर कम्पाउन्डमै खेल्न सकिने शारीरिक खेलहरूमा प्रोत्साहन गर्नुपर्छ। खेलले ऊर्जा दिन्छ, निन्द्रा र खानामा सकरात्मक प्रभाव पार्छ साथसाथै शारीरिक र मानसिक तन्दुरुस्ती बढाउँछ। बालबालिकासँग अभिभावक खेल्दा दुवैलाई त्यस्तो फाइदा हुन्छ। घरभित्रै कोठामा पनि शारीरिक सक्रियता हुने खालका अभ्यास र योग वा मानसिक सक्रियता हुनेखालका चेस वा लुडो जस्ता खेलहरू खेल्न सकिन्छ। साथसाथै फोनमार्फत् या अन्य सुरक्षित माध्यमबाट साथीहरूसँग सम्बन्ध कायम राख्ने वातावरण बनाइदिन पनि पर्छ।
अर्को महत्त्वपूर्ण कुरा भनेको बालबालिकाको स्क्रीन समयको निगरानी हो। उनीहरूले मोबाइल वा कम्प्युटरमा के गरिरहेका छन् भन्ने कुरा अभिभावनले ध्यान दिनुपर्छ। गेम वा सोसल मिडियामा पो धेरै समय बिताइरहेका छन् कि भन्ने कुराको हेक्का राख्नुपर्छ। डिसइन्फर्मेशन भनिने मिथ्या सूचनाबाट उनीहरूलाई जोगाउन विश्वसनीय स्रोतहरूका बारेमा भनौँ र कस्ता सूचना मिथ्या हुन्छन् भन्ने जानकारी दियौँ। साथसाथै उनीहरूसँग विशेष गरी कोरोना भाइरससम्बन्धी सूचनाहरूका बारेमा नियमित कुरा गरौँ र उनीहरूले सही कुरा बुझिरहेको यकिन गरौँ।
यति गर्दागर्दै पनि मानसिक अस्वस्थताका माथि भनिएका लक्षणहरू लामो समयसम्म देखिएमा मानसिक स्वास्थ्यकर्मीको सहयोग खोज्न नहिच्किचाउनुहोस्। अहिले कतिपय अवस्थामा फोनमार्फत् नै पनि त्यस्ता सहयोगहरू उपलब्ध छन्।
मनोसामाजिक परामर्श
यस्तो परिस्थितिमा राज्यको भूमिका अहम् हुन्छ। शिक्षाको क्षेत्रमा वैकल्पिक शिक्षामा जानुको विकल्प देखिएको छैन । तर, वैकल्पिक शिक्षाका योजनाहरू ल्याइँदा पठनपाठन नियमित गर्ने मात्रै होइन, यसले बालबालिकामा पार्नसक्ने असरहरू र त्यसको न्यूनीकरणका उपायहरूका बारेमा पनि प्रशस्त छलफल र योजना बनाइनुपर्छ। भविष्यमा पार्न सक्ने नकारात्मक असरहरूका बारेमा नसोची अगाडि बढ्दा कलिला मस्तिष्कलाई तिखार्ने प्रयासमा हामी उनीहरूलाई बोधो बनाइरहेका पनि हुन सक्छौँ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नै यस्तो विषम परिस्थितिमा मनोसामाजिक परामर्शको महत्त्वपूर्ण भूमिका हुने भन्दै मानसिक अस्वस्थ्यताको अवस्थामा यो सेवा लिनका लागि सार्वजनिक अनुरोध गरेको छ। जोखिममा रहेका व्यक्ति, परिवार र समूदायलाई मनोसामाजिक परामर्श पुर्याउनु आवश्यक छ। यसका साथै राज्यले अभिभावकलक्षित बालबालिकाको मानसिक स्वास्थ्यको हेरचाहको व्यवहारिक ज्ञान र शीप दिने, मनोसामाजिक र मनोवैज्ञानिक परामर्श लिन प्रोत्साहन गर्ने खालका जनचेतनामूलक सामग्रीहरू निर्माण र प्रचार-प्रसार गर्नुपर्छ।
मानसिक स्वास्थ्यका हिसाबले कुनै पनि विषम परिस्थितिमा बालबालिकाहरू जोखिम समूहमा पर्छन्। त्यसैले उनीहरूको शारीरिक, मानसिक र सम्पूर्ण विकासका लागि उनीहरूलाई विशेष निगरानीमा राख्नु जरूरी छ। उनीहरूलाई केही असजिलो हुँदा समयमा नै सहयोग गर्न सक्यौँ भने त्यसले गर्दा आउनसक्ने दीर्घकालीन असरहरूलाई रोक्न सकिन्छ। यसो गर्न सकियो पनि यस्तो प्रतिकूल समयमा पनि उनीहरू सुरक्षित र आत्मविश्वासी व्यक्तिका रूपमा प्रस्तुत हुन सक्छन् र विषम परिस्थितिलाई सामना गर्न सक्छन्।
(अनलाइनखबरमा प्रकाशित)