महामारीमा विरोध प्रदर्शनको मनोवैज्ञानिक पक्ष
जब स्वास्थ्य क्षेत्रमा भ्रष्टाचार, आरडिटी परीक्षणको गुणस्तरहीनता र अनियन्त्रित संक्रमणले युवा दिक्क हुन्छन्, चुप लागेर बस्न सक्दैनन्
कोरोना भाइरस संक्रमितको संख्या र मृत्युमा वृद्धि भइरहेका वेला युवाहरूको शान्तिपूर्ण विरोध प्रदर्शनले धेरैको ध्यान खिच्यो । मुलुकभर कोरोना भाइरसको जोखिम बढिरहेका वेला शारीरिक दूरी कायम राख्नुपर्ने वेलामा खुकुलै भए पनि बन्दाबन्दीको अवस्थामा निडर भएर जोस र विरोधका नारा लिई सडकमा उत्रिनु नौलो नहोला ।
तर, मननीय भने पक्कै हो । जोखिमपूर्ण भए पनि ती किन खतरा मोलेरै सडकमा उत्रिएका छन् भन्नेबारे राजनीतिक दृष्टिकोणबाट विभिन्न व्याख्या पक्कै छन् । यो लेखमा युवालाई यस्तो आन्दोलनमा उत्रिन कस्तो खाले मनोवैज्ञानिक तत्वले उत्प्रेरित गरिरहेको छ भन्ने विश्लेषण गर्ने प्रयास गरिएको छ ।
संसारभर प्रमुख चुनौती भनेकै कोरोना भाइरसलाई नियन्त्रण गर्ने र त्यसपछि देशको आर्थिक गतिविधि सबल बनाउँदै नागरिकको जीवनशैली पुरानै अवस्थामा फर्काउने हो । कोरोना भाइरसले मानवको जीवनशैलीमा उथलपुथल ल्याएको छ । कतिपयले परिवारको सदस्य गुमाएका छन्, त्यसभन्दा धेरैको रोजीरोटी खोसिएको छ ।
सबैभन्दा धेरै हामी डर र त्रासकै अवस्थामा छौँ । बन्दाबन्दी खुकुलो भएसँगै सडकमा चहलपहल छ र संक्रमितको संख्या जसरी बढिरहेको छ, यसले अवस्था झन् जटिल हुँदै जाने प्रस्ट छ ।
जीविका धान्न धेरैले व्यापार वा अरू काम सुरु गरेको भए पनि सबैमा डर कायम छ । यस्तो अवस्थामा युवाविना कुनै राजनीतिक नेतृत्व र संगठनविना सामाजिक सञ्जालमार्फत संगठित भएर शान्तिपूर्ण विरोध प्रदर्शनमा उत्रे ।
यस्ता प्रदर्शनले हामीलाई मानव व्यवहार र संवेगलाई एकैसाथ हेर्ने, बुझ्ने र केलाउने मौका दिन्छन् । यस्ता केलाइहरू समाजको गति र दिशा बुझ्न मद्दतगार हुन्छन् ।
इतिहासले के देखाएको छ भने मानिस आन्दोलनमा तब उत्रन्छन्, जब लामो समयसम्म अन्याय र अत्याचारका तीता अनुभवले ल्याएका डर, आक्रोश र लाचारीका भावनासँग ऊ जुझ्न थाल्छ । यस्ता आन्दोलन सुरुमा एक व्यक्ति वा सानो समूहबाट सुरु हुन्छन् र ती संवेग मिल्ने सबैलाई सहभागी हुन मौका मिल्छ । यसैले जोखिमका बाबजुद पनि महामारीकै बीच ऊ सामूहिक भावना मिलेका कारण प्रदर्शनमा संलग्न हुन्छ ।
विरोधी भावनाको जन्म
अमेरिका र विकसित थुप्रै राष्ट्रमा जर्ज फ्लोयडको प्रहरी नियन्त्रणमा मृत्यु भएको भिडियो भाइरल भएसँगै नागरिक नश्लीय विभेद र अन्यायको विरोधमा सडकमा ओर्लिए । तिनै आन्दोलनमा प्रयोग भएको ‘इनफ इज इनफ’ अर्थात् अब अति भयो भन्ने भावको नाराबाट नेपालका प्रदर्शनकारी प्रेरित देखिन्छन् ।
फ्लोयडको हत्या अत्याचार त छँदै थियो, साथसाथै यसले वर्षौंदेखि अश्वेत जातिले भोग्दै आएको अन्याय र कतिपयले भोगेको प्रहरी अत्याचार एवं त्यसले निम्त्याएको आक्रोश र लाचारीको संवेगलाई ब्युँत्याइदियो । फलस्वरूप संवेगलाई बोध गर्ने सडकमा उत्रिए ।
महामारीका समयमा बन्दाबन्दीको वेलामा घरभित्रै थुनिएर बस्नुपर्ने स्वेच्छाभन्दा पनि बाध्यता हो । राज्यले नागरिकमाथि लगाएका प्रतिबन्धात्मक नियमको व्यक्तिवादी संस्कृति भएका स्थानमा भन्दा सामूहिक संस्कृति वा अनुदार सरकार भएका देशमा राम्ररी पालना हुन्छ । यसको कारण सामूहिक संस्कृति भएका देशमा व्यक्तिभन्दा समुदायको हित पहिले सोचिनु र अनुदार सरकार भएको देशमा डर व्याप्त हुनु हो ।
यही कारणले चीनमा बन्दाबन्दीको राम्ररी पालना भयो, तर युरोपका देशमा पार्कमा निस्केका मानिसलाई घर फर्काउन प्रहरीले बल प्रयोग गर्नुपर्यो । हाम्रोमा चीनको जस्तो अनुदार सरकार र युरोपको जस्तो व्यक्तिवादी संस्कृति छैन । विशेषगरी सहरी क्षेत्रका युवा सामूहिक संस्कृतिबाट व्यक्तिगत संस्कृतितर्फ सरिरहेकोसम्म अनुमान गर्न सकिन्छ । बन्दाबन्दी सुरु भएपछि काम नहुनेहरू थातथलोतिर फर्कने लर्कोबाहेक ठूलो जनसमुदाय घरमै थुनिएर बस्यो ।
अहिलेको प्रदर्शन वा अस्तिसम्म चलेको सत्याग्रह विशेषतः आपत्कालप्रति सरकारको बेवास्ता, खर्चको अपारदर्शिता र गैरजवाफदेहिताविरुद्ध शान्तिपूर्ण, नागरिक नेतृत्वको गैरराजनीतिक र स्वतस्फूर्त विरोध हो ।
केही युवाले फेसबुकमा निजी आक्रोश पोख्न बनाएको सानो समूहबाट सुरु भएको विरोधको कारण, शैली र भावनालाई युवा जमातले बोध गरेको छ । विरोधका शैली नवीन, सिर्जनात्मक र पहिलेका विरोधभन्दा फरक खालका छन् ।
राजनीतिक समूहमा आबद्ध नभएको र देशका लागि राजनीतिक शक्ति प्राप्तिको उद्देश्यविना नै ती सडकमा उत्रिएका हुन् । राष्ट्रिय गान गाएर प्रहरीलाई समेत नतमस्तक पार्ने र सरकारका अभिव्यक्तिमा जवाफदेहिता नभएको बताउन शरीरमा बेसार दल्नेजस्ता सांकेतिक विरोध उनीहरू आफू राजनीतिक उद्देश्यबाट प्रेरित नभएको देखाउने प्रयास थियो । शान्तिपूर्ण र कतिपय अवस्थामा शारीरिक दूरी कायम राखिएको भए पनि यो कोरोना भाइरसको संक्रमण फैलिने हिसाबले जोखिममुक्त भने छैन ।
विरोधी भावनाको जिम्मेवार को?
विरोधका भावना एक्कासि एउटा कुनै घटना र गतिविधिका कारण जन्मिँदैन । तर, कुनै एक घटना वा गतिविधि त्यस्ता भावनालाई बाहिर ल्याउने बिन्दु भने हुन सक्छन् । मुलुकमा अनियमितता, अपारदर्शिता, अकर्मण्यता र गैरजवाफदेहिता पहिलेदेखि नै थियो । युवावर्ग असल नेतृत्वको अभावमा राजनीतिक नेतृत्वबाट निराश हुन लागेको वर्ग हो । देशलाई राम्रो बनाउन केही भूमिका खेल्नुपर्ने दबाबमा रहेको वर्ग पनि हो ।
बन्दाबन्दीको अवस्थामा सुरुमा मानिस शक्तिमा रहेकाको गैरजिम्मेवारीपना र भ्रष्टाचारका सामाचारबाट आफू हेपिएको र आफूलाई आधारभूत अधिकारबाट वञ्चित गराएर महामारीको अवस्थामा पनि शक्तिमा रहेकाहरूले देश र नागरिकको हितमा काम गर्न नसकेको महसुस गरेर आक्रोशित भए ।
महामारीअघि जीवनशैली उकास्न र जीविका सुधार्न अनेक उपाय लगाएका अथवा समृद्ध भविष्यको आशामा रहेकाहरूलाई यस्ता समाचारले आघात पा-यो । उनीहरूलाई संरचनागत कारणले नै आफू अन्यायमा परेको भान हुन थाल्यो ।
आफू ठगिएको महसुस भएपछि भ्रष्ट्राचार, व्यवस्थापकीय बेथिति एवम् अपारदर्शिताजस्ता विषयमा असह्य हुनु स्वाभाविक हो । अझ आफूजस्तै नागरिकले मौलिक हक र अधिकारका लागि, आफ्नै घर पुग्न वा आधारभूत आवश्यकता पूरा गर्न संघर्ष गरिरहेको देखेपछि असहज भयो । यसैको परिणामस्वरूप केही व्यक्ति अप्ठेरोमा परेकाहरूको सहयोगमा जुटे ।
बाटोमा राखिएका जुत्ता वा चोकमा बाँडिएका खानेकुरा त्यही असहज भावनाका प्रतिबिम्ब थिए । दिनदिनै समाचारमा विद्यालयको बेन्चलाई खाट बनाइएको, दूरी कायम नगरी कोठामा कोचिएको र शौचालयको अभावजस्ता क्वारेन्टाइनको दयनीय अवस्था बुझेर युवा आक्रोशित हुनु स्वाभाविक हो । कतिपय समाचारले मन घोचेको छ र मस्तिष्क उथलपुथल बनाएको छ । यस्तोमा राज्यसँग किन यस्तो भइरहेछ भनेर प्रश्न गर्नु नयाँ होइन ।
बन्दाबन्दीको अवस्थामा फुर्सदिला भएकाले यी सबै कुरामा सोच्ने, मृत्युको त्रासका माझ आफ्नो जीवनको अर्थ र सम्बन्धलाई मात्रै नभई अबका दिनमा के भन्ने विषयमा उनीहरूले विश्लेषण गर्ने मौका पाए । हातमै मोबाइल भएकाले समाचार पढ्न र साथीसँग छलफल गर्न पाए । पत्रपत्रिका र टिभीजस्ता माध्यममा परम्परागत तरिकाले पाको उमेरका व्यक्तिलाई लक्षित सामग्री धेरै प्रयोग नगर्ने पुस्ताले मोबाइलमा त्यस्ता समाचार मात्रै होइन, उनीहरूले बुझ्ने सरल र कतिपय अवस्थामा व्यंग्यात्मक ट्रोलजस्ता कुराबाट राजनीति र समाजका कुरा मनन गर्ने अवस्थामा पुगे ।
अहिलेको युवापुस्ताले राजनीति र यसका मुद्दालाई बेवास्ता होइन, समावेश गर्नुपर्ने कुरो बुझेको छ । चलिआएको जीवनशैलीलाई बदल्दाको असहजतामाझ आएका यस्ता समाचार र भनाइले देशका लागि केही गर्नुपर्न दबाबमा रहेको युवापुस्ताले विरोधको मञ्च पाउँदा प्रयोग गर्ने नै भयो ।
मानिस स्वभावैले आफ्नो पहिचान खोजिरहेको हुन्छ । तर, जब उसले आफू गलत तरिकाले भेदभावमा परेको वा अपमानित भएको महसुस गर्छ र त्यसको कारणमा आफ्नो दोषभन्दा पनि राज्यको संरचनात्मक त्रुटि हो बुझ्न थाल्छ, उसले पहिचानमा अन्याय भएको विश्लेषण गर्छ । फलस्वरूप उसको चाहना भनेको त्रुटिपूर्ण संरचना भत्काउन र भइरहेको अवस्थालाई परिवर्तन गर्न प्रयास गर्ने हुन्छ ।
यसका लागि सामूहिक प्रयासको आवश्यकता हुने बुझेको मानिस केही योगदान गर्न विरोधमा होमिन्छ । सरकारको आदेश मानेर शारीरिक दूरीमा रहेका युवा जब स्वास्थ्य क्षेत्रमा भ्रष्टाचार, आरडिटी परीक्षणको गुणस्तरहीनता र अनियन्त्रित संक्रमणले दिक्क हुन्छन्, तब चुप लागेर बस्न सक्दैनन् ।
अरू त अरू प्रधानमन्त्री स्वयं नै कोरोना भाइरसको महामारीमा देखिएका अव्यवस्था र उठेका प्रश्नको जवाफ दिएर जिम्मेवारीपना देखाउनुपर्ने अवस्थामा कोरोना भाइरसबारे अप्रमाणित तर्क गर्छन् र तिनै तर्कलाई ठीक देखाउन लागेको भान हुन्छ ।
महामारीसँग लड्न देशलाई ठोस योजना र कार्य आवश्यक भएका वेला विज्ञले उडन्ते र भावनामा बगेका कुराले नागरिकलाई फकाउन खोजिन्छ, युवाको आक्रोश झन् बढ्नु प्राकृतिक हो । देशमा सबै नागरिकलाई अप्ठेरो परेका वेला उनीहरूका भावनामा सहानुभूति हुनुका सट्टा शक्तिमा रहेका व्यक्तिले मिथ्या तर्क र ठट्टा गर्दा त्यसले नकारात्मक असर नै पार्छ ।
युवाको मनोविज्ञान पहिचान निर्माणमा केन्द्रित हुन्छ । आफूले पढेको, देखेको, भोगेको र सिकेको कुरालाई बारम्बार प्रश्न गर्दै र उत्तर खोज्दै अगाडि बढ्नु उमेरजन्य विशेषता हो । उनीहरू उचित स्थान प्राप्तिका लागि अमिल्दा लागेका परम्परागत सोच, अघिल्लो पुस्ताको मूल्य–मान्यता र संरचनात्मक अभावविरुद्ध आवाज उठाइरहेका हुन्छन् । उनीहरूसँग आवेग, आक्रोश बढी हुन्छ र आफ्नो प्रतिबद्धता पूरा गर्ने साहस र धैर्य पनि ।
उनीहरूमा भावना र संवेगको उथलपुथल भइरहेको हुन्छ, जसले उचित निकास पाउनु आवश्यक छ । त्यो निकास नकारात्मक भयो भने जीवनको उत्तराद्र्ध नै नकारात्मक हुने अध्ययनहरूले देखाएका छन् । त्यसैले राज्यशक्ति उपभोग गरिरहेकाहरू युवासँग अनुत्तरित हुन मिल्दैन ।
हाम्रो युवापुस्तालाई कसरी निर्देशित गर्ने र कस्तो बनाउने भन्ने कुराको सार उनीहरूको प्रश्नलाई कसरी सम्बोधन गर्ने भन्नेमा निहित छ ।
(नयाँ पत्रिका दैनिकमा विसं २०७७ असार २६ गते प्रकाशित लेख)