मनोसामाजिक सहयोगको खाँचो
गत वैशाख १२ गते गएको भूकम्पमा देशले खेपिरहेको क्षति पीडादायक छ। यति बेला राज्यसहित विभिन्न राष्ट्रहरू, संघ संस्थाहरू र व्यक्तिगत हिसाबले राहत सहयोग आइरहेको छ। यद्यपि सहयोग पर्याप्त मात्राका नपुगेको गुनासो पनि छ। सिँगो देश नै यसरी विपत्तिमा परेको बेला जन, धन र भौतिक संरचनाको जुन रूपमा क्षति भएको छ, त्यसको पुन:संरचना र पुन:स्थापनाका लागि लाखौं सहयोगी हातहरूको खाँचो छ। यो भूकम्पले जति क्षति जन, धन र भौतिक संरचनाको भएको छ त्यति नै मात्रामा नेपालीमा मानसिक आघात पनि परेको छ। जन, धन र भौतिक संरचनाको क्षति बेहोर्न नपरेकाहरूमा समेत मानसिक आघात परेको भए पनि अहिले यस विषयमा निकै कम कुरा उठिरहेको छ। शारीरिक चोटपटक र भौतिक क्षति देख्न सकिने र बाह्य हुन्छन् भने मानसिक आघात वा चोटपटक धेरै अवस्थामा त्यो बेलासम्म देख्न सकिँदैन जति बेलासम्म त्यसले ठूलो समस्याका रूपमा बाह्य लक्षणहरू लिएर आउँदैनन्।
अहिले भूकम्पबाट प्रत्यक्ष वा अप्रत्यक्ष प्रभाव परेका जोसुकै पनि भूकम्पसम्बन्धी तनाव वा डरबाट टाढा छैनन्। भूकम्पमा आफ्नो परिवारको सदस्य वा परिचित वा नातेदार गुमाएको एवं घरबार नै गुमाएका व्यक्तिहरूको पीडा अकल्पनीय हुन्छ। त्यस बाहेकका हामीहरू सबै अनिश्चितता सहितको लगातारको कम्पनले त्रसित, भयभीत र चिन्तित अवस्थामा छौं। पाटन मानसिक अस्पतालमा अहिले आकस्मिक सेवामा बिरामी बढेका छन्। थोरै आवाजले पनि झस्कनु र बेला बेलामा हल्लिएको महसुस हुनु यो असामान्य परिस्थितिले निम्ताएको सामान्य प्रतिक्रिया मात्रै हो। यो अवस्थामा विभिन्नखाले शारीरिक प्रतिक्रियाहरू जस्तो कि जीउ भारी हुने, वाकवाकी लागेजस्तो हुने, मुटु हल्लिएको जस्तो हुने, खाना कम या धेरै रुच्ने हुनु र पेट दुख्नेजस्ता लक्षणहरू देखिन सक्छन्। त्यस्तै धेरै निदाउने वा ननिदाउने समस्या, निराशा, झर्को लाग्नु, रिस, धङधङती लाग्नु, केही गर्न नसक्ने शक्तिहीन महसुस हुनु र नराम्रो सपना आउनु जस्ता लक्षणहरू पनि देखिन सक्छन्।
असामान्य परिस्थितिमा केही समयका लागि यस्ता शारीरिक र मानसिक लक्षणहरू देखिनु सामान्य हो। यी लक्षणहरू समयमै निराकरण भएन वा गर्न सकिएन भने पोस्ट ट्रम्याटिक स्ट्रेस डिस्अर्डर (पीटीएसडी) जस्ता मानसिक रोगका रूपमा देखिने सम्भावना बढ्छ। पीटीएसडी भएको अवस्थामा मानिसले घटना भएको लामो समयसम्म पनि त्यही घटना दोहरिएको महसुस गर्ने र त्यो घटनाको आघातबाट मुक्त हुन नसक्ने हुन्छ। सामान्यतया ठूलो घटनाको तुरुन्तै एक हप्ता जस्तोको समयसम्म मनोवैज्ञानिक प्राथमिक उपचार र त्यसपछि मनोसामाजिक सहयोग र स्याहार प्रदान गर्ने गरिन्छ।
विदेशमा विपत्का बेला गरिने मनोवैज्ञानिक प्राथमिक उपचार र मनोसामाजिक सहयोग प्रभावकारी र अत्यन्तै आवश्यक भएको पुष्टि भइसकेको छ। हाइटीमा भूकम्पपछि अन्तर्राष्ट्रिय सहयोगी संस्थाहरूले त्यहाँका स्वास्थ्यसेवी र उद्दनर स्वयंसेवकहरूलाई मनोवैज्ञानिक प्राथमिक उपचारको पुस्तिक बाँड्नुका साथै त्यहाँका चिकित्सक र नर्सहरूलाई यससम्बन्धी तालिम प्रदान गरेको थियो। जापानमा स्वास्थ्यसेवी र स्वयंसेवकहरूका साथै बालबालिकाहरूको भावनात्मक आवश्यकता पूरा गर्न अभिभावक, शिक्षक शिक्षिका र अन्यलाई समेत अभिमुखीकरण कार्यक्रमहरू गरिएको थियो। हाम्रै देशका पनि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा चिनियाँ स्वास्थ्यसेवी टोलीले मनोवैज्ञानिक प्राथमिक उपचारको तालिम दिएको थियो। कुनै पनि विपत्पश्चात तुरुन्त दिइने अति आवश्यक राहत र स्वास्थ्य परीक्षणसँगै उनीहरूको मानसिक र भावनात्मक सुस्वास्थ्यका लागि मनोवैज्ञानिक प्राथमिक उपचारका लागि पीडितसँगै परिवारका सदस्यहरू, साथीभाइ र नातेदारहरूसँग अनुभव साटेर पीडा बाँड्ने वातावरण निर्माण गर्नुपर्छ। मनोवैज्ञानिक प्राथमिक उपचार ‘टिमवर्क’ हो, जसमा स्वास्थ्यकर्मी, सामाजिक कार्यकर्ता, राहत वितरक र स्थानीय सहयोगीहरूले मिलेर कार्य गर्नुपर्ने आवश्यकता हुन्छ।
मनोवैज्ञानिक प्राथमिक उपचारले सुरुमा परिवार र साथीसंगीसँग दु:खपीडामा जोडेर केही सजिलो बनाए पनि मानसिक आघातका समस्याहरूलाई पूर्ण रूपमा निराकरण गर्न सक्दैन। विपत्को एक/दुई हप्तापछि मनोसामाजिक सहयोग र स्याहार प्रदान गर्नुपर्छ, जसमा विपत्पछि कसरी मानिसहरू आफ्नो दैनिक कार्य गरिरहेका छन् भन्नेदेखि उनीहरूको मानसिक स्वास्थ्य अवस्थाको मूल्यांकन र आवश्यकता पूरा गरिन्छ। विपत््पश्चात हरेक व्यक्तिलाई उस्तै प्रकारको मानसिक समस्या आउँदैन। भावनात्मक रूपमा कमजोर र थप जोखिममा पर्न सक्ने व्यक्तिहरूमा यो छिट्टै र बढी देखिन्छ। सुरुका सामान्य लक्षणहरू कम हुँदै जानुपर्ने परिस्थितिमा पनि भावनात्मक रूपमा कमजोर व्यक्तिहरू साथै बालबालिका, गर्भवती महिला, छिट्टै संवेगमा आउने किशोरकिशोरी, शारीरिक अपांगता भएका व्यक्तिहरू, वृद्धवृद्धा र रोगीहरूमा त्यस्ता लक्षणहरू रहिरहने हुन्छ। पहिले कुनै समयमा गाह्रो परिस्थितिबाट गुज्रिसकेका र मानसिक रोग रहेका व्यक्तिहरूमा पनि विपत् सहने क्षमता कम हुन्छ
विभिन्न प्रकार र उमेर समूहका मानिसहरूमा फरकखाले मानसिक समस्याहरू देखिने हुनाले फरक ढंगले नै मध्यस्थता गरी उपचार गरिनुपर्छ। बालबालिकाहरू बढी त्रसित र भयभीत हुन्छन् तर अभिव्यक्त गर्न सक्दैनन्। उनीहरूलाई के भएको हो भन्ने कुरामा अनविज्ञ हुन्छन् तर कम्पनको अनुभवले मनमा गहिरो डर उत्पन्न गराउँछ। सिन्धुपाञ्चोकमा एक अभिभावकले आफ्ना छोराछोरीहरू राति सुत्दा सपनामा आत्तिने र ब्युँझिने गरेको अनुभव सुनाए। बालबालिकाहरूको खेल पनि भूकम्पसँग सम्बन्धित हुन्छ। यस्तो अवस्थामा उनीहरूसँग बढी समय बिताउने, सँगै सुताउने र उनीहरूलाई सुरक्षित छन् भन्ने महसुस गराउनुपर्छ। अब भूकम्प आउँदैन भनेर झूटो बोल्नुभन्दा पनि भूकम्पबारे डरलाग्दा कुराहरू नभनीकन उनीहरूले बुझ्ने गरी जानकारी दिनुपर्छ। बालबालिकाहरूलाई खेल्ने र आराम गर्ने वातावरणसमेत मिलाइदिनुपर्छ किनभने खेल र चित्रकलाजस्ता कुराले बालबालिकाको डर भुलाउन मद्दत गर्दछ। हाइटीमा विपत््पश्चात रंग लगाउने किताब वितरण गर्नु, चित्र बनाउन प्रोत्साहन गर्नु र नेपालमा केही स्थानमा सेभ द चिल्ड्रेनले खेलौनाको व्यवस्था गरिदिनुको कारण पनि यही हो।
किशोर किशोरीहरूमा विपत् सामना गर्ने क्षमता कम हुन्छ। उनीहरूले त्यसका लागि सकारात्मकभन्दा मादक पदार्थ सेवनजस्ता नकारात्मक कदम उठाउने सम्भावना पनि हुन्छ। यो कुरा निरुत्साहित गर्न उनीहरूलाई भूकम्पबारे यथार्थ विवरण बताइदिनुका साथै सुरक्षा उपायहरूको जानकारी दिनुपर्छ। साथीसंगीको कुरा साट्ने वृत्तमा कुराकानी गर्न र विचार आदानप्रदान गर्न प्रोत्साहन गर्दा पनि उनीहरूले सजिलो महसुस गर्दछन्। जसले मृत्यु वा विनाशलाई आँखै अगाडि देखेर मानसिक आघात परेको छ उनीहरूका लागि त्यो घटना सुनाउने मौका दिनुपर्छ। कोही आफ्नो अनुभव सुनाउन चाहन्छ भने उसका कुरा सुनिदिने वातावरण निर्माण गरिदिनुपर्छ। तर सुनाउन तयार नभएको अवस्थामा जबर्जस्ती बोल्न लगाउनुहुँदैन, समय दिनुपर्छ। नजिक वा प्रिय व्यक्ति गुमाएका व्यक्तिहरूमा रिस, अन्योल, भ्रम, थकान र कमजोरी महसुस हुनु सामान्य हो। यसको न्यूनीकरणका लागि आफन्तहरूसँग राख्ने र सकेसम्म दैनिक क्रियाकलापमा सामेल गराउने गर्नुपर्छ।
भूकम्प गएको एक हप्ता बितिसक्दा पनि धेरै ठाउँमा खाने र सुत्ने आधारभूत आवश्यकता पूरा हुन सकिरहेको छैन। यो अवस्थामा आधारभूत राहत नै पहिलो आवश्यकता हो। यसपछि महामारी र लुटपाटजस्ता घटनाहरू फैलिन सक्छ, जसले थप जटिलता निम्त्याउँछ र पुन:स्थापनाका लागि थप समस्या थपिन्छ। अहिले स्वतस्फूर्त रूपमा सहयोगमा जुटेका मानिसहरूको शरीर पनि थाक्दै जान्छ र त्यो पनि कम हुँदै जान्छ। अबको केही समयपछि मानिसहरूको जिन्दगी फेरि सामान्य अवस्थामा लैजानुपर्ने हुन्छ। विद्यालय, कलेज र कार्यालयहरू खुल्छन् र व्यापार व्यवसायहरू पनि सुरु हुन्छ। त्यो बेला पनि अन्योल, तिक्तता र रिक्तताको अनुभव हुन्छ, जसका लागि पूर्वतयारीस्वरूप मानसिक रूपमा तयारी गर्न सकेन भने समस्याहरू थपिन सक्छ।
यति मात्र हैन, केही समयपश्चात घटनास्थलमा प्रत्यक्ष पुगेका व्यावसायिकजस्तै प्रहरी, सेना, चिकित्सक, नर्स, सञ्चारकर्मी, सामाजिक कार्यकर्ता र स्वयंसेवकहरूको मानसिक स्वास्थ्यको पनि मूल्यांकन र परामर्श आवश्यक हुन्छ। लामो समयसम्म विपत् अवस्थाका काम गरेकाहरू आफैं मानसिक रूपमा थाक्छन्, जसले गर्दा उनीहरूलाई मनोपरामर्शको आवश्यकता पर्न सक्छ। मानसिक स्वास्थ्यकर्मीहरूको दायित्व भनेको भूकम्पबाट प्रभावितहरूलाई एक अर्कासँग कुराकानीको सञ्जाल निर्माण गराइदिएर उनीहरूलाई मानसिक र भावनात्मक रूपमा बलियो महसुस गराउने र आफ्नो कर्तव्यबोध गराउँदै विपत्मा आफू र अरूलाई सहयोग गर्न सक्ने बनाइदिनु हो। यो समयमा एक अर्काको सहयोगमा हातेमालो गर्दै हिँडेमा यो विपत्बाट मानसिक र भावनात्मक रूपमा छिट्टै बाहिर निस्कने अवस्था सिर्जना हुन्छ।