बन्दाबन्दीमा किशोर/किशोरीको मानसिक स्वास्थ्य
कोरोना भाइरसको महामारीले निम्त्याएको बन्दाबन्दीको अवस्थामा हामी सबैको दैनिक क्रियाकलाप प्रभावित भएका छन् । अन्योल, छटपटी र डरको यो अवस्थाले प्रभावित हुने बालबालिका, स्वास्थ्य समस्या भएका वयस्क र वृद्ध अवस्थाका मानिसको शारीरिक र मानसिक स्वास्थ्यका बारेमा चर्चा भए पनि किशोरावस्थाका व्यक्तिहरूका विषयमा कमै चासो भएको देखिन्छ ।
टिनएजर्स भनिने किशोर/किशोरीको समूह कोरोना भाइरस संक्रमणको कम जोखिममा रहेको, उमेरगत कारण घर/परिवारमा पनि एक्लिएर बस्न रुचाउने भएकाले पनि त्यो उमेर समूहको समस्याका विषयमा कम चर्चा भएको हुन सक्छ । तर जीवनको एउटा अप्ठेरो मानसिक, शारीरिक र भावनात्मक उथलपुथल लिएर आउने समय भनेकै किशोरावस्था हो ।
अझ यो बन्दाबन्दीको अवस्थामा ती भावनात्मक उथलपुथल र एक्लोपनको मनोभावनाले उनीहरूको मानसिक अवस्थालाई अझ जटिल बनाइरहेको हुन्छ । त्यसैले किशोर/किशोरीमा देखिने त्यस किसिमको मानसिक अवस्थाका साथै घर/परिवार र उनीहरू स्वयंले मानसिक स्वास्थ्यलाई के कसरी हेरचाह गर्न सक्छन् भन्ने विषयमा यो लेख केन्द्रित छ ।
किशोर/किशोरीमा वेचैनी
बन्दाबन्दी सुरु भएपछि किशोरावस्थाका छोराछोरीबारे अभिभावकले बताएका कुरा धेरैमा लागु हुन सक्छ । अभिभावकहरूका भनाइमा किशोरावस्थामा छोराछोरी मोबाइल वा टिभीमा झन् धेरै समय बिताउने, पहिलेभन्दा कम बोल्ने, एकोहोरो हुने, झर्कीफर्की बढी गर्ने र चाँडै रिसाउने गर्छन् । किशोर/किशोरीबाट अभिव्यक्त दिक्दारीहरूमा पनि समानता भेटिन्छ ।
‘पढौँ कति पढ्ने, नपढुँ पछाडि परिएला’ भन्ने अन्योल, विदेश गएर पढ्ने इच्छाको भविष्य, अन्योलले निम्त्याएको अत्यास र घरमा अभिभावकले निरन्तर पढ् भनेर दिने दबाब वा साथीहरूसँग भेट्न नपाउँदाका पीडाले ल्याएको दिक्दारी नै उनीहरूले अभिव्यक्त गरेका हुन्छन् । बुझ्नुपर्ने तथ्य के हो भने यी दिक्दारीमध्ये कतिपय तात्कालिक अवस्था र परिवेशले ल्याएको भावनात्मक बहमात्रै हो भने कतिपयचाहिँ मानसिक समस्याको संकेत हो ।
किशोरावस्थामा प्राकृतिकरूपमै मानिस आफ्नै उमेर समूहमा साथीहरूसँग बढी हिमचिम गर्ने, विपरीत लिङ्गीप्रति आकर्षित हुने, विचार र भावना साट्ने, जीवनका विभिन्न कुरालाई अथ्र्याउन खोजेर आफ्नो पहिचान खोज्ने कोसिस गरिरहेका हुन्छन् । त्यो समयमा अनायास आइपरेको बन्दाबन्दीको अवस्थाले उनीहरूको दैनिकी फेरिएको छ । विद्यालय वा कलेज जान पाएका छैनन् जसले गर्दा साथीहरूसँग समय बिताउन पनि पाएका छैनन् भने खेलकुद पनि छुटेको छ ।
शैक्षिक वर्षको अन्त्यमा प्राप्त हुने परीक्षाको नतिजाको घोषणासँगै विद्यालय/कलेजमा हुने बिदाइ, स्वागत, अभिभावक दिवस वा त्यस्तै अन्य कार्यक्रम उनहिरूका लागि साथीहरूबीच आफ्नो क्षमता वा कला देखाउने र मनोबल उच्च राख्ने कोशेढुङ्गा हुन् जुन अनुभवलाई धेरैले आत्मसात नै गर्न पाएका छैनन् । विभिन्नखाले सम्बन्धमा रहेका विपरीत लिङ्गीसँगको कुराकानी कम भएका वा रोकिएका छन् । यो विशेष परिस्थिति हामी सबैका लागि समय अड्किएको जस्तै हो जसले गर्दा बाँकी काम÷योजना सक्नुपर्छ भन्ने बाध्यता पनि छैन ।
एसइइ दिन लागेका किशोर/किशोरीको परीक्षा सुरु हुन लागेका बेला अघिल्लो दिन मात्रै रोकिएको हो । हाम्रो शैक्षिक प्रणालीमा फलामे ढोका भनिएको एसइइको नतिजालाई धेरै नै महत्व दिने गरिन्छ जसले गर्दा पनि ती किशोर÷किशोरीमा एक किसिमको वेचैनी भएको हुनुपर्छ तैपनि उनीहरूका लागि परीक्षाको मिति कुर्नुको विकल्प छैन । यसले उनीहरूमा परीक्षाको मानसिक बोझ त हटेको छैन नै, साथै अनिश्चितताको तनाव बेहोर्न पनि बाध्य छन् ।
अझ त्यो उमेर समूहका धेरैसँग मोबाइल पनि छैन, साथीभाइसँग सम्पर्क गर्ने वा प्रविधिमा व्यस्त रहन अरू जस्तो सहज पनि छैन । कोरोना भाइरसको न्यून फैलावटका कारण उनीहरूले एकातिर बेकारमा बन्दाबन्दीमा परेको अनुभव गरिरहेका छन् भने अर्काेतिर भाइरस सर्ने/सार्ने त्रास पनि उत्तिकै छ । यस्तो अवस्थामा बालबालिकालाई झैं उनीहरूलाई जतिखेर पनि ध्यान दिइराख्नुपर्दैन तर अभिभावकहरूले उनीहरूको भावना, विचार र व्यवहारमा भने ध्यान दिनैपर्छ ।
केही समस्या देखिए त्यसलाई संवेदनशील तरिकाले सम्बोधन गर्न पनि उत्तिकै जरुरी छ । बन्दाबन्दीका कारण सिर्जित तनावमा उनीहरूले उचित मार्गनिर्देशन खोजिरहेका हुन्छन्/छन् । अभिभावकहरूले यो पक्षमा ध्यान दिन आवश्यक छ ।
अभिभावकको सहयोग कसरी ?
अभिभावकले आफ्ना किशोरावस्थाका छोराछोरीलाई कसरी सहयोग गर्न सक्छन् त ? सबैभन्दा पहिलो आवश्यकता भनेको सही तरिकाको कुराकानी हो । त्यसका लागि अभिभावकले राम्रोसँग सुन्ने बानी विकास गर्नुपर्छ । किशोर÷किशोरीको कुरा राम्ररी सुन्ने, चित्त नबुझेका कुरामा पनि तुरुन्तै प्रतिकूल प्रतिक्रिया नदिने र आफूलाई शान्तरूपमा प्रस्तुत गर्ने व्यवहारले उनीहरूलाई आफ्ना समस्या राख्न उत्प्रेरित गर्छ । सानो कुरा नमिल्दा वा बिग्रँदा पनि निराश हुने वा रिसाउने किशोरावस्थाका भावहरू अभिभावकले बुझ्न सक्नुपर्छ र त्यसैगरी ग्रहण गर्न सक्नुपर्छ ।
उनीहरूका विचार र भावनालाई महत्व दिने मात्रै होइन, त्यसकै आधारमा उनीहरूका बारेमा धारणा नबनाउने बानी विकास गर्नुपर्छ जसले गर्दा उनीहरूलाई विचार र भावना बाँड्न सहज होस् । यसको अर्थ यो पनि होइन कि उनीहरूका सबै कुरा ठीक भन्नुपर्छ । तर उनीहरूलाई निर्देशन दिने वा ठीक र बेठीक भन्नेभन्दा पनि आफ्ना अनुभवका आधारमा सल्लाह दिनुपर्छ जुन कुरा उनीहरूका लागि प्रेरणादायी सिकाइ बनोस् । र, उनीहरूमा अरूका कुरा पनि सुन्नुपर्छ भन्ने भावना विकास होस् ।
उनीहरूलाई सामाजिक दूरीमा रहँदा आफूलाई मात्रै नभई आफ्नो परिवार र समुदायलाई सहयोग गरिरहेको कुरामा आश्वस्त बनाउनुपर्छ । यसको अर्थ कोरोना भाइरसबारे उनीहरूको बुझाइका कुरा गर्नेदेखि उनीहरूलाई सञ्चारमाध्यम र सामाजिक सञ्जालमा भाइरल भएका मिथ्या सूचनाहरूबाट जोगाउने र आधिकारिक सूचनामा मात्रै विश्वास गर्न सिकाउने हो । यसका साथै उनीहरूको मोबाइल प्रयोगका बारेमा याद गर्दै त्यसलाई दुव्र्यसनका रूपमा नभई साथीहरूसँग सम्पर्क र सञ्चारको माध्यमका रूपमा प्रयोग गर्न अभिप्रेरित गर्नुपर्छ ।
त्यसो त कतिपय किशोर/किशोरीले बन्दाबन्दीको समयमा परिवारसँगको आत्मीयता बढेको सकारात्मक अनुभव गरेका छन् । घरमै परिवारसँग मिलेर विभिन्न परिकार बनाउँदा खाना पकाउने रुचि बढेको, फूलबारीको काम गर्न थालेको, सिर्जनात्मक क्षमता सिकेको र सङ्गीत, गायन एवं नृत्यतर्फ समय दिएको कुरा सामाजिक सञ्जालमा राख्ने किशोर÷किशोरीको संख्या पनि उल्लेख्य छ ।
त्यति हुँदाहुँदै पनि उनीहरूले आफ्नै उमेरका अझ विशेषगरी विपरित लिङ्गीका साथीहरूसँग भेटघाट गर्न पाएका छैनन् जसले गर्दा एकअर्काका भावना र विचार साटासाट गर्न पाएका छैनन् । यो अवस्थामा अभिभावकले साथीसँग कुराकानी गर्ने वातावरण, समय र गोपनीयताको विषयलाई पनि ख्याल गरिदिनुपर्छ । र, त्यसै किसिमको वातावरण बनाइदिनुपर्छ ।
सिर्जनात्मक काममा प्रेरित गरौँ
प्रतिकूल परिस्थितिका बाबजुद पनि सामान्य अवस्थामा फर्कन सक्ने क्षमता किशोर÷किशोरीमा बढी हुन्छ जुन उनीहरूलाई भविष्यमा प्रतिकूल परिस्थितिको सामना गर्ने सिकाइ पनि हो । अभिभावकहरूले उनीहरूलाई त्यस्ता अनुभव र कथा पनि सुनाउन सक्छन् । सन् २०१५ को भूकम्पपछि किशोर÷किशोरीले सहयोग गर्न देखाएको सक्रियता जस्ता कुरालाई उनीहरूको परिस्थितिसँग जुझ्न सक्ने कलाका रूपमा लिन सकिन्छ ।
अन्तर्मुखी स्वभाव त्यो उमेरको प्राकृतिक विशेषता भएकाले उनीहरू कम बोल्छन् तर भावना र विचारहरूमा खेल्छन् र ती विचारलाई लेखेर अभिव्यक्त गर्छन् । लेख्न प्रोत्साहित गर्नाले पनि उनीहरूमा रहेको भावना सहज हिसावले अभिव्यक्त हुन्छ ।
अर्को भनेको यो उमेरमा उनीहरू निकै ऊर्जावान, सिर्जनात्मक र प्रयोग गर्न रुचाउने भएकाले विभिन्न चुनौतीपूर्ण काम गर्न प्रेरित गर्न सकिन्छ । सामान्य अवस्थामा लामो समय पढाइमा बिताउनुपर्ने अवस्थामा त उनीहरूले आफ्ना सौख र खेलकुदका लागि समय निकालिरहेका हुन्छन् भने अहिले त फुर्सदिला भएका छन् । सिर्जनात्मक चुनौतीहरू समाधान गर्न खोज्ने प्राकृतिक व्यवहारका कारण उनीहरूलाई त्यस्ता काममा प्रेरित गर्न सकिन्छ । उदाहरणका लागि पुराना तस्बिरलाई सिर्जनात्मक ढङ्गबाट मिलाएर राख्ने काम दिन सकिन्छ । (आखिर हामी धेरैले फुर्सदको समयमा पुरानो अल्बमहरू पल्टाएकै छौँ ।)
उनीहरू प्रविधिसँग नजिक भएका कारण सिप विकास गर्न सक्छन् । परिवारको भिडिओ बनाउने वा रुचिअनुसार ब्लग वा भिडिओ ब्लग तयार पार्न सक्छन् जसले उनीहरूलाई नयाँ कुरा सिकाउँछ, व्यस्त राख्छ र केही कुरा सम्पन्न गरेकामा सन्तुष्टि र खुसी मिल्छ जुन मानसिक स्वास्थ्यका लागि उपयोगी हुन्छ । तर उनीहरूलाई व्यस्त राख्ने नाममा रुचि नभएको विषयमा जबर्जस्ती दबाब दिने र उनीहरूका अन्य उमेर समूहका नातेदार वा अन्यसँग दाँजेर ‘अरूले गर्छन् तिमीले गर्दैनौ’ भन्नेखालका कुरा गर्नुचाहिँ उचित हुँदैन । त्यसले उनीहरूमा उल्टै निराशा र नकारात्मक भाव मात्रै पैदा हुन सक्छ ।
यसकारण सतर्क हुन आवश्यक
समग्रमा भन्ने हो भने किशोर÷किशोरीहरूको विशेष क्षमताका कारण अहिलेको प्रतिकूल परिस्थितिमा पनि आत्तिइहाल्नुपर्ने अवस्था कमै मात्रामा देखिएको छ । तर उनीहरूलाई भविष्यमा मानसिक समस्याहरू नआओस् भनेर सतर्कता अपनाउन भने जरुरी छ । यो बन्दाबन्दी कति लम्बिने हो, हाम्रो देशमा कोरोना भाइरसको संक्रमण अवस्था कस्तो हुने हो र बन्दाबन्दी खुकुलो भए पनि विद्यालयहरू कहिले खुल्ने भन्ने अन्योल कायमै छ ।
यो उमेरमा एकान्त खोज्नु सामान्य हो तर अभिभावकहरूले उनीहरूले निकै एक्लोपन महसुस त गरिरहेका छैनन् भनी याद गर्नुपर्छ । एक्लोपनमा हुने मानिसक द्वन्द्व र तनावको अवस्थाले उनीहरूलाई जोखिमपूर्ण व्यवहारतर्फ आकर्षित गराउँछ । धूमपान, मद्यपान, गलत यौन व्यवहार वा इन्टरनेट दुव्र्यसन जस्ता नकारात्मक व्यवहारतर्फ आकर्षित हुन सक्छन् ।
लामो समय यस्तो अवस्था रहँदा अनिन्द्रा वा अतिनिन्द्रा वा एक्लोपना हुन सक्छ । यस्तो अवस्थामा मनोविद् वा मनोचिकित्सक वा मनोवैज्ञानिकको सहायता खोज्न ढिलाइ गर्न हुँदैन । अहिले भेटघाटबाट मनोपरामर्श सम्भव नभए पनि धेरैले टेलिफोन वा इन्टरनेटमार्फत दूरमनोपरामर्श सेवा प्रदान गरिरहेका छन् ।
अझ सबैभन्दा बढी सतर्क विद्यालय÷कलेज खुलेपछि हुनुपर्छ । लामो समय बन्दाबन्दीको अवस्थाबाट विद्यालय फर्कँदा उनीहरूको विभिन्नखाले व्यवहार र भावनालाई उचित ढङ्गबाट सम्बोधन गर्न विद्यालय, शिक्षक÷शिक्षिका र अभिभावक विचारशील हुनुपर्छ । अहिले विभिन्न माध्यमबाट किशोर÷किशोरीले फरक ढङ्गले विभिन्न कुरा सिकिरहेका छन् र त्यसलाई साथीहरूको वृत्तमा बाँड्न पाएका छैनन् ।
यस्तो अवस्थामा विद्यालय खुल्नेबित्तिकै हतार गरेर पाठ्यक्रम सिध्याउनेभन्दा पनि पहिले किशोर/किशोरीलाई एकअर्कासँग छलफल र समय बिताएर मानसिकरूपमा पढाइका लागि तयार हुने समय दिनुपर्छ जसले गर्दा पढाइका लागि सहज वातावरण बनोस् । विद्यालयहरूले यो पक्षमा ध्यान दिन जरुरी छ ।
किशोरावस्थामा उत्पन्न मानसिक समस्याले जीवनभर पिरोल्ने सम्भावना धेरै हुन्छ । त्यसैले पनि यो प्रतिकूल परिस्थितिमा उनीहरूको मानसिक स्वास्थ्यलाई ध्यानमा राखेर उचित वातावरण बनाउने र त्यसैअनुरूप व्यवहार गरियो भने उनीहरू भविष्यका लागि थप सबल हुनेछन्, गुणस्तरीय जीवन बिताउन सक्षम हुनेछन् । हामीले किशोरावस्थाका छोराछोरीलाई दिने त्योभन्दा राम्रो उपहार बिरलै हुन्छ ।